ललितपुरको सानेपामा आज कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइतेहरूको उपचार सानेपामै रहेको स्टार अस्पतालमा भइरहेको छ । घाइते मध्ये मोटरसाइकलमा पछाडी सवार ललितपुरकै धोविघाट बस्ने म्याग्दीको देविस्थान गाउँपालिका का २६ वर्षीय सन्जु फगामीको अवस्था भने गम्भीर रहेको छ । आज बिहान साढे ५ बजे बा १८ च ५७६३ नम्बर नखुलेको कारले बा ८८ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार सहित चालक भने फरार रहेकाले खोजी भइरहेको छ ।
मोरङको रतुवामाई नगरपालिका ७ गढिझारमा आज मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-०५० प ८५२२ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रतुवामाइ नगरपालिका ७ का २८ वर्षीय कनैया साहको मंगलबारे ट्रमा सेन्टरमा उपचारको क्रममा करिब ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा आज मिनि बस र ट्रक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका परिचालक रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनीका ३६ वर्षीय रामकृष्ण गोतामे रहेका छन् । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेमा उपचारको क्रममा गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा मिनि बसमा सवार २ जना भने सामान्य घाइते भएका छन् । नेपालगञ्जबाट कोहपुरतर्फ जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनि बस र पूर्वबाट पश्चिमतर्फ बाटो पार गर्दै गरेको ना ५ ख ८५६६ ट्रक आज बिहान ७ बजे आपसमा ठोकिएका थिए । बस चालक फरार छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका ७ चरङ्गेमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२-०४४ प६८ ८३ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखाकै गौरीशंकर गाउँपालिका ५ सुरीका ४० वर्षीय राम कुमार खड्काको उपचारको क्रममा सामुदायिक अस्पताल चरिकोटमा मृत्यु भएको हो । उनलाई बिहान पौने १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी सातदोबाटो दोलखाले जनाएको छ ।