Shrawan 09, Traffic Update

रुपन्देहीको सियारी गाउँपालिका २ कट्टामा हिजो ट्रिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकलयात्री भारतीय नागरिक ६५ वर्षिय भुपी सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । हिजो अपरान्ह सवा ४ बजे लु २ ख ७२० नम्बरको ट्रिपरले सहनी सवार रहेको साईकललाई ठक्कर दिएको हो । ट्रिपर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजीकार्य भैरहेको इलाका प्रहरी कार्यालय बेथरीले जानकारी दिएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ मा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् । जितपुरबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ४२४७ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना २६ प ३६४७ नम्बरको मोटरसाईकललाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका ४४ वर्षीय कृष्ण चौधरीको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले नियन्त्रणमा लिइसकेको छ ।

रौतहटको यमुनामाई गाउँपालिका १ मा पनि हिजै साँझ मोटरसाईकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । गौरबाट सुकदेवचोक तर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२१ प ७४७९ नम्बरको मोटरसाईकल हिजो साँझ ६ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका यमुनामाई गाउँपालिका ३ का २५ वर्षीय ओसाएद अन्सारीको सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।