ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

जाहेरी दर्खास्त सम्बन्धी जानकारी

Share

१. कसले दिने ?

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को अनुसूची-१ मा उल्लिखित कुनै कसूर भएको, भईरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसूरको सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-५ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथाशीघ्र दिनु पर्दछ ।


२. कहाँ दिने ?

  • जाहेरी दरखास्त नजिकको जुनसुकै प्रहरी कार्यालयमा पनि दिन सकिने छ तर त्यस्तो जाहेरी दरखास्त अपराध भएको स्थलको सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा मातहत तोकिएको अन्य प्रहरी कार्यालयमा दर्ता हुनेछ ।
  • कुनै कसूर अन्य प्रहरी कार्यालयको क्षेत्र भित्र भएको वा भईरहेको वा हुन लागेको थाहा पाएमा त्यस्तो प्रहरी कार्यालयले त्यस्तो सुचना यथाशीघ्र सम्बन्धित प्रहरी कार्यालयमा पठाईदिनु पर्दछ र आवश्यकता अनुसार सूचना दिने व्यक्तिलाई पनि सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी दिनु पर्दछ ।
  • जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने व्यक्तिले यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालय भन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ ।  यसरी उजुर प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त वा सूचना आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमै पठाउनु पर्नेछ ।


३. कहिले दिने ?

  • सम्बन्धित अपराधको कानूनले तोकेको हद म्याद भित्र यथासक्य चाँडो जाहेरी दरखास्त दिनु पर्दछ ।


४. कसरी दिने ?

  • अपराधको सूचना वा जाहेरी दरखास्त तत्काल दिँदा लिखित, मौखिक जे जस्तो रुप वा ढाँचामा दिए पनि सम्बन्धित प्रहरी कार्यालयले बुझी लिनु पर्नेछ । जाहेरी दरखास्त वा सूचना दिने व्यक्तिले त्यस्तो सूचना लिखित रुपमा नदिएमा निजले दिएको सूचनाका आधारमा सबै कुराहरु सम्बन्धित प्रहरी कर्मचारीले अनुसूची-५ बमोजिमको ढाँचामा खुलाई निजलाई सो पढी वाची सुनाई निजको सहीछाप समेत गराई राख्नु पर्नेछ । तर जाहेरी दरखास्तमा अपराध गर्नेको नाम, थर, वतन तथा हुलिया किटान नभएकै कारण त्यस्तो जाहेरी दरखास्त अस्वीकार्य हुने छैन यद्यपि जाहेरी दरखास्तमा सकेसम्म कसूर तथा कसूरदारको वारेमा वढि भन्दा बढी सूचना समावेश गर्नु पर्दछ ।
  • जाहेरी दरखास्त वा सुचना कुनै व्यक्तिले सम्बन्धित प्रहरी कार्यालयमा आफै उपस्थित भई दिएमा वा कुनै व्यक्ति मार्फत पठाएमा वा विद्युतीय माध्यमबाट सूचना दिएमा त्यस्तो प्रहरी कार्यालयले त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गरी निजलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची- ६ बमोजिमको ढाँचामा भरपाई दिनु पर्दछ । कसैले विद्युतीय माध्यमबाट सूचना दिएकोमा सोही माध्यमबाट त्यस्तो सूचना पाएको जानकारी गराउनु पर्नेछ । कुनै व्यक्ति मार्फत वा विद्युतीय माध्यम वा अन्य कुनै माध्यमबाट प्राप्त भएको जाहेरी दरखास्त वा सूचनाको विश्वसनीयतामा शंका भएमा त्यस्तो दरखास्त वा सूचना बाटोको म्याद बाहेक सात दिनभित्र सम्बन्धित व्यक्तिबाट सनाखत गराउनु पर्नेछ । अन्यथा सनाखत हुन नसकेको जाहेरी दरखास्त वा सूचना उपर कुनै कारवाही हुने छैन ।