काठमाण्डौ उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ । त्यस्तै विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरीने सवारी साधन पनि सामान्य रुपमानै संचालन भइरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । कैलालिको गौरीगंगा नगरपालिका ३ कुचैनीमा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका १ बस्ने ३० वर्षीया सबिता कडेल रहेकी छीन । घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ । आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्याक्टरले सुदुर पश्चिम प्रदेश ०१-००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्याक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । काठमाडौँको कोटेश्वरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मोटरसाइकल चालक दोलखा घर भइ हाल डल्लु बस्ने २३ वर्षीय आशिष लामिछाने र पछाडी सवार २३ वर्षकै दिनेश सेती सुडा घाइते भएका हुन् । घाइते दुबैजनाको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । घाइतेमध्ये सुडाको अवस्था भने गम्भीर रहेको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ६७ प ७००३ नम्बरको मोटरसाइकल गएराती सवा ११ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको थियो ।