ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०३-०९

काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराई ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) सुरेश प्रसाद काफ्लेज्यूले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा सवारी चालकको जिम्मेवारी, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक व्यवस्थापनका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।विद्यार्थीहरूलाई सडकमा ट्राफिक व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। उक्त अवसरमा ट्राफिक प्रहरीको भूमिका, सडक अनुशासनको महत्व तथा जिम्मेवार नागरिकको रूपमा सडक सुरक्षामा पुर्‍याउन सकिने योगदानबारे समेत छलफल गरिएको थियो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०८३-०३-०७

मिति २०८३।०३।०७ गते, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूले  कार्यरत प्रहरी कर्मचारीहरूलाई अनुशासित, शिष्ट तथा सेवाभावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। साथै, आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै प्रभावकारी ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार र सक्रिय भई सडकमा खटिनुपर्नेमा जोड दिनुभयो।उक्त कार्यक्रममा कार्यरत प्रहरी कर्मचारीहरूका गुनासा, सुझाव तथा जिज्ञासाका विषयमा समेत खुला अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामार्फत प्राप्त सुझाव तथा गुनासाहरूको सम्बोधन गर्दै संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी, उत्तरदायी तथा नागरिकमैत्री बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।यसरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विशेष अभियान अन्तर्गत सार्वजनिक सवारी साधनका चालक,चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०२-२८

आज मिति २०८३।०२।२८ गते, काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरूमा ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनका चालक, चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।साथै आरक्षण सिटको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्ने, भाडादर सूची स्पष्ट र देखिने स्थानमा टाँस गर्ने, सवारी साधनमा CCTV क्यामेरा जडान गर्ने तथा GPS प्रणाली जडान गरी सवारीको निगरानी, पारदर्शिता र यात्रु सुरक्षालाई थप सुदृढ बनाउने सम्बन्धमा विशेष जोड दिँदै सचेतना अभिवृद्धि गरिएको छ । सवारी साधन सुरक्षित तथा जिम्मेवार ढंगले सञ्चालन गर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, क्षमता भन्दा बढी यात्रु नओसार्ने, यात्रुहरूसँग सभ्य, शिष्ट र मर्यादित व्यवहार गर्ने लगायतका विषयमा विस्तृत रूपमा जानकारी तथा जनचेतना प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रम मार्फत सार्वजनिक सवारी साधनहरूले बसपकेट बाहिर जथाभावी सवारी नरोक्न, ढोका खुला राखी ढोकामै यात्रु राखि सवारी सञ्चालन नगर्न, जेब्रा क्रसिङमा सवारी नरोक्ने ,लागुपदार्थ ,मादक पदार्थ सेवन नगर्न तथा लेफ्ट लेन अवरुद्ध नगरी ट्राफिक नियम उल्लङ्घन नगर्न सवारी साधनहरूलाई सचेतना कार्यक्रम गरिएको छ ।यस अभियानले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन प्रवर्द्धन तथा यात्रुहरूको सुरक्षित, सहज र भरपर्दो यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७

आज मिति २०८३।०२।२७ गते, ट्राफिक प्रहरी परिसर, सातदोबाटो, ललितपुर कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्ट द्वारा श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।

विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७

आज मिति २०८३।०२।२७ गते, यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर सिंह ऐरीद्वारा किर्तिपुर माद्यामिक विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।

सबै समाचार
अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८३-०२-२६

आज मिति २०८३।०२।२६ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी कर्मचारीहरु तथा मातहत प्रमुखहरुसँग उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले ज्यूद्वारा ट्राफिक प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, बोली वचन र ब्यवहार राम्रो हुनुपर्ने, सवारी चालकसँग मैत्रीपूर्ण ब्यवहार गर्ने, विभागको शुन्य-सहनशिलताको नितीलाई अक्षरस पालना गर्ने, काम कारवाही चुस्त दुरुस्त गर्नुपर्ने, आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल गरी उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रही चुस्त, दुरूस्त रुपमा ट्राफिक व्यस्थापन गर्न निर्देशन दिनुभएको छ ।

Traffic Police Mirror 2026 को लोकार्पण
२०८३-०२-१८

Traffic Police Mirror 2026 को आज एक कार्यक्रमकाबिच लोकार्पण भएको छ । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले Traffic Police Mirror 2026 को लोकार्पण गर्नुभएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३”को अवसर पारेर Traffic Police Mirror 2026 को लोकार्पण भएको हो ।प्रहरी महानिरीक्षक कार्कीले Mirror को निर्माणमा योगदान पुर्‍याउने ट्राफिक प्रहरी कर्मचारी, संस्था र विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्रद्वारा सम्मान गर्नुभएको थियो । काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले Traffic Police Mirror 2026 को प्रकाशन सम्बन्धी औचित्य प्रकाश पार्नुभएको थियो । Profession Holdings Ltd तथा Globle collage का निर्देशक राजेन्द्र प्रसाद त्रिपाठी र ट्राफिक विज्ञ सुनिल पौडेलले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो । विगतका अनुभव, सङ्घर्ष र उपलब्धिहरूको बलियो जगमा उभिएर Traffic Police Mirror 2026 ले भविष्यको प्रविधिमैत्री र आधुनिक युगतर्फ स्पष्ट दृष्टि प्रस्तुत गरेको छ । कार्यक्रममा Traffic Police Mirror 2026 सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी–२०८३” सम्पन्न
२०८३-०२-१८

आज मिति २०८३।०२।१८ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” आज सम्पन्न भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङगणमा भएको कार्यशाला गोष्ठी तीनओटा सत्रमा सम्पन्न भएको हो । कार्यक्रमको पहिलो सत्रका प्रमुख अतिथि नेपाल सरकार पुर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र विशिष्ट अतिथि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पानसमा दीप प्रज्वलन गरेर Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३ को समुद्धाटन गर्नुभएको हो ।उक्त सत्रमा प्रमुख अतिथि गोपाल प्रसाद सिग्देल सहित काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सडक विभागका महानिर्देशक डाक्टर विजय जैशी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले मन्तव्य राख्नु भएको थियो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूको स्वागत गर्दै कार्यशालाको उदेश्य तथा औचित्यमाथि पनि प्रकाश पार्नु भएको थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।कार्यशालाको दोस्रो सत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग,  सडक सुरक्षा परिषद्, सडक बोर्ड नेपाल,  काठमाडौँ महानगरपालिका, थापाथली इन्जिनियर क्याम्पस, NAIMA र क्रिमसन टेकका प्रतिनिधिहरूले ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था चुनौती, नीतिगत सुधार, पूर्वाधार विकास, कृत्रिम बौद्धिकता (AI) को प्रयोग, निजी क्षेत्रको भूमिका तथा एकीकृत ट्राफिक व्यवस्थापन प्रणालीको सम्भावनाबारे प्रस्तुतीकरण दिनु भएको थियो । प्रस्तुतीकरण पश्चात उठेका जिज्ञासाहरूमा विज्ञहरू लगायत विभिन्न क्षेत्रका महानुभावहरूले छलफल गर्नुका साथै सुझाव पेश गर्नु भएको थियो । तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहु-निकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्चस्तरीय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहु-आयामिक प्रभावकारीता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, Ride-sharing नियमन लगायत नीतिगत सुधार, IntelligentTraffic System (ITS), E-Challan, ANPR, CCTV जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र NRSAP 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

चोरी भएका ६५ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण” ।
२०८३-०१-२७

मिति २०८३।०१।२७ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (आइतबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ४५ ओटा मोटरसाइकल र २० ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आज बुझाइएका ६५ ओटा सहित ४५४ ओटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (Gps) जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गर्नुभएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

चोरी भएका ५० ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण
२०८२-१२-११

आज मिति २०८२।१२।११ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बुधबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ ओटा मोटरसाइकल र २३ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायतका स्थानबाट उक्तसवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।आज बुझाइएका ५० ओटा सहित ३४७ ओटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १८ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सोही कार्यक्रममा खोजतलास शाखाका प्रहरी नायव निरीक्षक गोपाल तामाङलाई हराएका सवारी साधन खोजतलासमा महत्वपूर्ण भुमिका खेलेकाले प्रशंसापत्रसमेत प्रदान गर्नुभयो । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (Gps) जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गर्नुभएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” सम्पन्न ।
२०८२-१०-२९

आज मिति २०८२ माघ २९ गते, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा गोष्ठीको आयोजना गरिएको हो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी उदघाटन सत्रको कार्यक्रमको सुरुवात भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव कुमार शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्तको रुपमा यातायात रहेको भए तापनी सडक सुरक्षाको विषय निकै संवेदनशील हुँदै गइरहेको बताउनुभएको छ । सडक सुरक्षा जस्तो संवेदनशील विषयमा एक निकायमात्र सक्रिय भएर नहुने र सरोकारावाला निकायका उच्च तहका व्यक्तिको समेत सहभागितामा सबैले यस विषयमा वकालत गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका लगायतको तर्फबाट प्रस्तुतीकरण हुनुका साथै छलफल समेत भएको थियो । सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो ।सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्युनीकरण लागि काठमाडौँ उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबिच एकिकृत रुपमा समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तराष्ट्रिय अनुभव, नविन अभ्यास तथा सुझाव आदान- प्रदान गर्नु, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्नु, सर्वसाधारण, विद्यालय/विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकलहरूमा सडक सुरक्षा सम्बन्धी सचेतना र जिम्मेवारी प्रवर्द्धन गर्नु यस कार्यशाला गोष्ठीको   मुख्य उदेश्य रहेको थियो । समापन सत्रका प्रमुख अतिथि, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कार्यशाला गोष्ठीले सडक प्रयोग एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय तथा संस्थाहरूबीच नीतिगत र कार्यगत समन्वय, सहकार्य अनि सहजीकरणमा विशेष पहल कदमी हुने विश्वास व्यक्त गर्नुभयो  । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजालाई मायाको चिनो प्रदान गर्नुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने Nepal Automobile Impoters And Manufacture Accociaton ( NAIMA ) का प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो  ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रम
२०८२-१०-०१

मिति २०८२।०९।३० गते, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरको संयुक्तको आयोजनामा “सडक दुर्घटना न्युनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रमका सभापति सामुदायिक सेवा तथा बिकास समाज एवं सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरका अध्यक्ष श्री रबिन्द्र थापाज्यू, प्रमुख अथिति काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री ओम प्रसाद अधिकारीज्यू, बिशिष्ट अथिति बागमति प्रदेश सभा सदस्य माननिय श्री सुनिल के.सि.ज्यू  र यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी ज्यू तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु सहित ६०० जनाको उपस्थितिमा ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक समापन भएको छ ।

ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रम
२०८२-१०-०१

मिति २०८२।०९।३० गते, सडक दुर्घटना न्यूनिकरण गरी जनधनको सुरक्षा अभिवृद्धि गर्ने अभिप्रायका साथ “सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन ट्राफिक बृत्त बौद्धको कार्य क्षेत्र भित्र ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू, गोकणेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालज्यू, यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नबराज अधिकारीज्यू र गोकणेश्वर नगरपालिकाका नगर उप-प्रमुख सान्नानि लामाज्यूको आतिथ्यमा गोकणेश्वर नगरपालिका वडा नं.६ स्थित नारायणटार पुलमा ट्राफिक लाईटको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।

“सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न”
२०८२-०८-१९

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्‍को संयुक्त आयोजनामा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्‍ता ज्यूको प्रमुख आतिथ्यमा आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, यातायात व्यवसायी, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी कर्मचारी,  स्वयंसेवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

भदौ २३ गते, बिहान १२:३० बजेको, ट्राफिक अपडेट
२०८२-०५-२३

काठमाडौँको माइतीघर-  बबरमहल – नयाँबानेश्वर  सडकखण्ड हुँदै चल्ने  सवारी साधन चल्न सकेका छैनन् । मानिसहरू  भेलाजम्मा भएका कारण उक्त सडकखण्डमा चल्ने सवारी साधनलाई नयाँबानेश्वरचोक, माइतीघर,  हनुमानथान  नजिकैको  पुल लगायतका स्थानबाट  डाईभर्सन  गरिएको छ । माइतीघरबाट सर्भिस लेन  हुँदै  थापाथलीतर्फ  जाने सवारी  साधनलाई मुख्य  लेनबाट  पठाइएको  छ ।  सवारी  चापको  व्यवस्थापनका लागि रिंङरोड  भएर बानेश्वर माईतिघर सडकखण्ड तर्फ आउने  भाडाका सबै सवारी  साधनलाई   विभिन्न स्थानबाट  डाईभर्सन  गरिएको  छ । डाईभर्सनका कारण पुरानोबानेश्वर, हनुमानथान, थापागाउँ, थापाथली, कुपण्डोल र  त्रिपुरेश्वर हुँदै चल्ने सवारी  साधन  केही  क्युमा चलिरहेका छन् । क्यु  रहेका स्थानमा ट्राफिक  प्रहरीले सवारी आवागमन  सहज बनाउने प्रयास  गरिरहेको  छ ।  यसबाहेकका मुख्य चोकहरूमा  भने सवारी  साधन  ट्राफिक  व्यवस्थापनको क्रममा केही  समय  रोकिनुपर्ने  अवस्था रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने  तथा बाहिरिने  सवारी साधनको आवागमन  भने  सामान्य  रहेको  छ ।  

छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८२-०५-०४

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित तथा नागरिक मैत्री बनाउने उदेश्यको साथ आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउद, कमल सिंह बम र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरुङ्गसँग उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुख सहितको सहभागितामा छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । यस छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएको विषयको सम्बोधन गरी नागरिकमैत्री सेवामा तत्पर रहन यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सम्पूर्ण यूनिट ईन्चार्जहरुलाई निर्देशन समेत दिनुभएको ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ ” अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न
२०८२-०५-०३

आज मिति २०८२।०५।०३ गते ,  नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, ट्राफिक  प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा समग्र बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीवाट प्रस्तुतीकरण भएको थियो ।

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२
२०८२-०३-११

आज मिति २०८२।०३।११ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक प्रहरी प्रभाग कलंकीको वडा एरियामा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यता, प्रहरी वृत्त कालीमाटीका प्रमुख प्र.ना.उ.मधु कुमार थापा, प्रहरी वृत्त थानकोटका प्रमुख प्र.ना.उ.एलिजा गिरी,का.म.न.पा.वडा न.१४ का वडा अध्यक्ष श्री सुमन श्रेष्ठ ज्यू, विभिन्न यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक,सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा ट्राफिक व्यस्थापन,सवारी दुर्घटना न्यूनिकरण र मनसुनजन्य विपद व्यवस्थापन लगायतका विषयबस्तुमा अन्तर्क्रियात्यमक कार्यक्रम गरीएको साथै नेपाल प्रहरी,ट्राफिक प्रहरी, यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक,सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा वाफलदेखि कलंकीचोक सम्म सचेतनात्मक प्रभातफेरी गर्नुका साथै यस कार्यालयका प्रहरी निरीक्षक ज्ञान बहादुर माझीद्वारा उक्त कार्यक्रममा अन्दाजी ७२० संख्यामा चालक सह-चालकहरुलाई अनुशिक्षण कार्यक्रम गर्नुभएको ।

असार ११, दुर्घटना खवर ।
२०८२-०३-११

सिरहाको लहान नगरपालिका ३ बिहारपुरमा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानिय संजय यादको छोरी ३ बर्षीया सुजीता सदायको मृत्यु भएको हो । बिहारपुर लहान भित्री सडक खण्डमा स १ त ४० ९९ नम्बरको ट्याक्टरले आज बिहान पौने ८ बजे बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी प्रादेशिक अस्पताल लहान सिराहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । दैलेखको भैरवी गाउँपालिका ६ तिजडाँडामा गएराति ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ  । १ जना घाइते भएका छन् । कुर्माकोट देखी भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अस्थायी नम्बरको ट्याक्टर गएराति ११ बजे पल्टिएको थियो । ट्याक्टर चालक दैलेखकै नारायण नगरपालिका १ बस्ने २१ वर्षीय ईश्वर श्रेष्ठ आज बिहान ७ बजे मृत भेटिएका छन् । घाइते भेटिएका भैरवी गाउँपालिका ४ बस्ने १९ वर्षीय सुन्दर विष्टलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले जनाएको छ । 

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ ।
२०८२-०३-०६

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ भएको छ । काठमाण्डौको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य बिपद्‍बाट सजग हुनुपर्ने विषयमा आ-आफ्नो मत राख्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मनसुन सम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने कुरामा जोड दिनुभयो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले ‘यसवर्ष वर्षा भारी मात्रामा हुने संभावना रहेकाले वर्षातको समयमा मनसुन सम्बन्धी समाचार र तथ्यगत सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभयो ।काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढि/पहिरो) साथै सडकको अवस्था बारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा नागरिक सहायता कक्षमा कार्यरत ट्राफिक प्रहरीले जानकारी दिने उदेश्यका साथ आजै काठमाडौँको नयाँबसपार्क सहित उपत्यकामा माथि उल्लेखित १२ स्थानमा  नागरिक सहायता कक्षको स्थापना गरि समुद्‍घाटन गरिएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताउनुभयो  । जसबाट सवारी चालक तथा यात्रुहरुले सडकको अवस्थाबारे जानकारी लिइ यात्रा गर्ने तथा सावधानीका उपाय समेत अपनाउन सक्ने कुरामा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, यातायात व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी र सर्बसाधरण लगायत ५ सय जनाको उपस्थिति रहेको थियो ।

जेठ २३, दुर्घटना खवर ।
२०८२-०२-२३

स्याङजाको फेदीखोला गाउँपालिका १ कुभिण्डेमा आज बिहान ट्रकमा ठोकिएर स्कुटर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक स्थानिय ३३ वर्षीया जितमाया थापा रहेकी छिन् । गम्भिर घाइते भएकी थापालाई उपचारको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङजा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कुभिण्डेबाट पोखरातर्फ जाँदै गरको ना ४ ख ९३३१ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा आज बिहान पौने ८ बजे सोही दिशातर्फ जाँदै गरेको ईम्बोट नम्बर AAB 02 43 नम्बरको स्कुटर ट्रकमा ठोकिएर पल्टिएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी फेदीखोला स्याङजाले जनाएको छ ।रुपन्देहीको बुटवल उप-महानगरपालिका ८ सुख्खानगरमा आज बिहान टिपरको ठक्कटबाट साईकलयात्रीको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै देवदह नगरपालिका १० चरङगेका ६९ वर्षीय प्रेम नारायण ज्ञवाली रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा मृत्यु भएको हो । महेन्द्रराजमार्गमा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ ख ५०३१ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको हो । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।कास्कीको पोखरा महानगरपालिका २९ भण्डारढिकमा आज बिहान रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका १ का ३१ वर्षीय भिम बहादुर बि.क. रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ जादै गरेको ग १० प ४९९२ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे सडकको छेउमा रोकीराखेको ग १ क ४२०४ नम्बरको टिपरमा ठोकिएर पल्टिएको हो । दुबै सवारी साधन नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०२-२२

विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे ९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफलतापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा आरोही दाबुटी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा तथा Token Of Appreciation द्वारा सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

स्वरुप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाउने चालकहरुलाई कारवाही
२०८२-०२-२२

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरुप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाउने  चालकहरुलाई कारवाही गर्दै आएको थियो । पछिल्लो समय मिति २०८२।०२।२० गते देखि बिशेष अभियान चलाइ त्यस्ता मोटरसाईकल चालकहरुमाथि मिति २०८२।०२।२० गते देखि आज मिति २०८२।०२।२२ गते सम्म कारवाही गर्ने क्रममा ७६ वटा मोटरसाइकल सहित चालकहरुलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभागमा कारवाहीको लागि  पठाईएको छ ।शहरी क्षेत्रमा हो-हल्ला गर्दै हिड्ने ,ध्वनी प्रदुषण गर्ने,साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाल्ने मोटरसाईकलहरु तपाइहरुको वडा एरियामा चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ र नेपाल प्रहरीको १०० नम्बर मा जानकारी गराईदिनुहुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गर्दछ ।  तपाईहरुले दिएको सुचना गोप्य राखिने छ ।

असोज १४, दुर्घटना खवर ।
२०८१-०६-१४

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र सोही  गाउँपालिका  ११ मंगलटार  स्थित  विभिन्न  स्थानमा बाढी तथा पहिरोले सडक बगाउँदा  र  सिन्धुलीको सुनकोशी  गाउँपालिका १ मा  झरेको पहिरोका कारण विपि राजमार्ग  अवरुद्ध भएको छ । त्यस्तै रसुवा जिल्लाका  विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।सिन्धुलीको  गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट- मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । त्यस्तै सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५  र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत -जावत रोकिएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वको अरुणखोला- चोरमारा सडकखण्डमा हिलो जमेको कारण पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन रोकिएका छन् । यो  संगै नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा  पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी  साधन प्रभावित भएका छन् ।

श्रावण ०४ गते , दुर्घटना खवर ।
२०८१-०४-०४

बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८०-१०-१९

मिति २०८०/१०/१९ गते , तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा यस कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा प्रहरी कार्य दक्षता मूल्याङ्कन ( Police Baton ) निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८०-०६-२५

मिति २०८०/०६/२५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको  नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन ( Police Baton ) निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षकले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरश: पालना गर्नु पर्ने,  ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्ने लगायत सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

अधिक लोड >>
कम देखाउनुहोस्