कालो स्टिकर हटाउने अभियान सुरु : गृहमन्त्रीको सवारीबाटै कार्यान्वयनको सुरुवात ।
२०८३-०३-१५
- A
- A-
- A+
विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सवारी साधनमा जडान गरिएका अनधिकृत कालो शिसा (Tinted Glass) तथा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति (VIP) तथा सर्वसाधारणले नियमानुसार धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट (Tinted Glass) प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको छ।
उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि माननीय गृहमन्त्रीज्यूको अग्रसरतामा सुरु गरिएको अभियानअन्तर्गत उहाँ तथा गृहसचिवज्यूको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको छ। यस कदममार्फत कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश प्रवाह गर्दै सम्बन्धित सबैलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरिएको छ।
सवारी साधनमा अनधिकृत रूपमा प्रयोग गरिएका कालो शिसा तथा कालो स्टिकरका कारण आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा कठिनाइ हुने भएकाले यस्ता कार्यलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो।
सम्बन्धित निकायले सबै सवारीधनी तथा चालकलाई प्रचलित कानुनको पूर्ण पालना गर्दै अनधिकृत कालो शिसा तथा कालो स्टिकर हटाई सुरक्षित, पारदर्शी र कानुनसम्मत यातायात व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।