दोलखाको भिमेश्वर नगरपालिका ७ चरङ्गेमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२-०४४ प६८ ८३ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखाकै गौरीशंकर गाउँपालिका ५ सुरीका ४० वर्षीय राम कुमार खड्काको उपचारको क्रममा सामुदायिक अस्पताल चरिकोटमा मृत्यु भएको हो । उनलाई बिहान पौने १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी सातदोबाटो दोलखाले जनाएको छ ।
काठमाण्डौको नागार्जुन नगरपालिका ४ बाफलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका नागार्जुन नगरपालिका ४ बाफलका ४८ बर्षीय बिरेन्द्र भट्टको स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३-०२-००४ प ४९ ८१ नम्बरको मोटरसाइकलले आज बिहान साढे ४ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
काठमाडौंको नयाँ बानेश्वर स्थित संगम चोकमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका ४ घर भई हाल बानेश्वर स्थित संगम चोक बस्दै आएका २४ वर्षीय नविन दाहाल रहेका छन् । घाइते दाहालको अन्नपुर्ण न्युरो अस्पताल माईतिघरमा उपचार भइरहेको छ । बा ९९ प १४ ३४ नम्बरको मोटरसाइकलले पैदलयात्री दाहाललाई आज बिहान सवा ११ बजे ठक्कर दिएको हो । मोटरसाइकल सहित चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।