स्याङजाको फेदीखोला गाउँपालिका १ कुभिण्डेमा आज बिहान ट्रकमा ठोकिएर स्कुटर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक स्थानिय ३३ वर्षीया जितमाया थापा रहेकी छिन् । गम्भिर घाइते भएकी थापालाई उपचारको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङजा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कुभिण्डेबाट पोखरातर्फ जाँदै गरको ना ४ ख ९३३१ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा आज बिहान पौने ८ बजे सोही दिशातर्फ जाँदै गरेको ईम्बोट नम्बर AAB 02 43 नम्बरको स्कुटर ट्रकमा ठोकिएर पल्टिएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी फेदीखोला स्याङजाले जनाएको छ ।
रुपन्देहीको बुटवल उप-महानगरपालिका ८ सुख्खानगरमा आज बिहान टिपरको ठक्कटबाट साईकलयात्रीको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै देवदह नगरपालिका १० चरङगेका ६९ वर्षीय प्रेम नारायण ज्ञवाली रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा मृत्यु भएको हो । महेन्द्रराजमार्गमा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ ख ५०३१ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको हो । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका २९ भण्डारढिकमा आज बिहान रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका १ का ३१ वर्षीय भिम बहादुर बि.क. रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ जादै गरेको ग १० प ४९९२ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे सडकको छेउमा रोकीराखेको ग १ क ४२०४ नम्बरको टिपरमा ठोकिएर पल्टिएको हो । दुबै सवारी साधन नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।