चैत १२, दुर्घटना अपडेट ।
२०७९-१२-१२
- A
- A-
- A+
कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा हिजो बेलुकी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । धनगढी स्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराती साढे १० बजे उनको मृत्यु भएको हो । घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती वि.क.को सोही अस्पतालमा उपचार भइरहेको छ । से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका २९ चौध किलोमा हिजो बेलुकी ट्रकको ठक्करबाट कारमा सवार ५ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । घाइते मध्ये नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका १४ का ४३ वर्षीय टेक प्रसाद न्यौपानेको अवस्था भने गम्भीर रहेको छ ।नारायणगढ-मुग्लिङ सडकखण्डमा लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोकेको ट्रकले बा २१ च ३७१५ नम्बरको कारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरी चौकी जुगेडीले जनाएको छ ।