ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण कार्यक्रम” सम्पन्न ।

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे ९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफलतापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा आरोही दाबुटी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा तथा Token Of Appreciation द्वारा सम्मान समेत गर्नुभएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण।
२०८३-०३-२९

मिति २०८३।०३।२९ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३६ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।

कालो स्टिकर हटाउने अभियान सुरु : गृहमन्त्रीको सवारीबाटै कार्यान्वयनको सुरुवात ।
२०८३-०३-१५

विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सवारी साधनमा जडान गरिएका अनधिकृत कालो शिसा (Tinted Glass) तथा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको छ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति (VIP) तथा सर्वसाधारणले नियमानुसार धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट (Tinted Glass) प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको छ।उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि माननीय गृहमन्त्रीज्यूको अग्रसरतामा सुरु गरिएको अभियानअन्तर्गत उहाँ तथा गृहसचिवज्यूको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको छ। यस कदममार्फत कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश प्रवाह गर्दै सम्बन्धित सबैलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरिएको छ।सवारी साधनमा अनधिकृत रूपमा प्रयोग गरिएका कालो शिसा तथा कालो स्टिकरका कारण आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा कठिनाइ हुने भएकाले यस्ता कार्यलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो।सम्बन्धित निकायले सबै सवारीधनी तथा चालकलाई प्रचलित कानुनको पूर्ण पालना गर्दै अनधिकृत कालो शिसा तथा कालो स्टिकर हटाई सुरक्षित, पारदर्शी र कानुनसम्मत यातायात व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।