ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण कार्यक्रम” सम्पन्न ।

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे ९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफलतापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा आरोही दाबुटी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा तथा Token Of Appreciation द्वारा सम्मान समेत गर्नुभएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
भदौ २३ गते, बिहान १२:३० बजेको, ट्राफिक अपडेट
२०८२-०५-२३

काठमाडौँको माइतीघर-  बबरमहल – नयाँबानेश्वर  सडकखण्ड हुँदै चल्ने  सवारी साधन चल्न सकेका छैनन् । मानिसहरू  भेलाजम्मा भएका कारण उक्त सडकखण्डमा चल्ने सवारी साधनलाई नयाँबानेश्वरचोक, माइतीघर,  हनुमानथान  नजिकैको  पुल लगायतका स्थानबाट  डाईभर्सन  गरिएको छ । माइतीघरबाट सर्भिस लेन  हुँदै  थापाथलीतर्फ  जाने सवारी  साधनलाई मुख्य  लेनबाट  पठाइएको  छ ।  सवारी  चापको  व्यवस्थापनका लागि रिंङरोड  भएर बानेश्वर माईतिघर सडकखण्ड तर्फ आउने  भाडाका सबै सवारी  साधनलाई   विभिन्न स्थानबाट  डाईभर्सन  गरिएको  छ । डाईभर्सनका कारण पुरानोबानेश्वर, हनुमानथान, थापागाउँ, थापाथली, कुपण्डोल र  त्रिपुरेश्वर हुँदै चल्ने सवारी  साधन  केही  क्युमा चलिरहेका छन् । क्यु  रहेका स्थानमा ट्राफिक  प्रहरीले सवारी आवागमन  सहज बनाउने प्रयास  गरिरहेको  छ ।  यसबाहेकका मुख्य चोकहरूमा  भने सवारी  साधन  ट्राफिक  व्यवस्थापनको क्रममा केही  समय  रोकिनुपर्ने  अवस्था रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने  तथा बाहिरिने  सवारी साधनको आवागमन  भने  सामान्य  रहेको  छ ।  

छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८२-०५-०४

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित तथा नागरिक मैत्री बनाउने उदेश्यको साथ आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउद, कमल सिंह बम र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरुङ्गसँग उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुख सहितको सहभागितामा छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । यस छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएको विषयको सम्बोधन गरी नागरिकमैत्री सेवामा तत्पर रहन यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सम्पूर्ण यूनिट ईन्चार्जहरुलाई निर्देशन समेत दिनुभएको ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ ” अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न
२०८२-०५-०३

आज मिति २०८२।०५।०३ गते ,  नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, ट्राफिक  प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा समग्र बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीवाट प्रस्तुतीकरण भएको थियो ।

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२
२०८२-०३-११

आज मिति २०८२।०३।११ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक प्रहरी प्रभाग कलंकीको वडा एरियामा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यता, प्रहरी वृत्त कालीमाटीका प्रमुख प्र.ना.उ.मधु कुमार थापा, प्रहरी वृत्त थानकोटका प्रमुख प्र.ना.उ.एलिजा गिरी,का.म.न.पा.वडा न.१४ का वडा अध्यक्ष श्री सुमन श्रेष्ठ ज्यू, विभिन्न यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक,सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा ट्राफिक व्यस्थापन,सवारी दुर्घटना न्यूनिकरण र मनसुनजन्य विपद व्यवस्थापन लगायतका विषयबस्तुमा अन्तर्क्रियात्यमक कार्यक्रम गरीएको साथै नेपाल प्रहरी,ट्राफिक प्रहरी, यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक,सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा वाफलदेखि कलंकीचोक सम्म सचेतनात्मक प्रभातफेरी गर्नुका साथै यस कार्यालयका प्रहरी निरीक्षक ज्ञान बहादुर माझीद्वारा उक्त कार्यक्रममा अन्दाजी ७२० संख्यामा चालक सह-चालकहरुलाई अनुशिक्षण कार्यक्रम गर्नुभएको ।

असार ११, दुर्घटना खवर ।
२०८२-०३-११

सिरहाको लहान नगरपालिका ३ बिहारपुरमा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानिय संजय यादको छोरी ३ बर्षीया सुजीता सदायको मृत्यु भएको हो । बिहारपुर लहान भित्री सडक खण्डमा स १ त ४० ९९ नम्बरको ट्याक्टरले आज बिहान पौने ८ बजे बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी प्रादेशिक अस्पताल लहान सिराहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । दैलेखको भैरवी गाउँपालिका ६ तिजडाँडामा गएराति ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ  । १ जना घाइते भएका छन् । कुर्माकोट देखी भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अस्थायी नम्बरको ट्याक्टर गएराति ११ बजे पल्टिएको थियो । ट्याक्टर चालक दैलेखकै नारायण नगरपालिका १ बस्ने २१ वर्षीय ईश्वर श्रेष्ठ आज बिहान ७ बजे मृत भेटिएका छन् । घाइते भेटिएका भैरवी गाउँपालिका ४ बस्ने १९ वर्षीय सुन्दर विष्टलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले जनाएको छ । 

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ ।
२०८२-०३-०६

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ भएको छ । काठमाण्डौको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य बिपद्‍बाट सजग हुनुपर्ने विषयमा आ-आफ्नो मत राख्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मनसुन सम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने कुरामा जोड दिनुभयो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले ‘यसवर्ष वर्षा भारी मात्रामा हुने संभावना रहेकाले वर्षातको समयमा मनसुन सम्बन्धी समाचार र तथ्यगत सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभयो ।काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढि/पहिरो) साथै सडकको अवस्था बारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा नागरिक सहायता कक्षमा कार्यरत ट्राफिक प्रहरीले जानकारी दिने उदेश्यका साथ आजै काठमाडौँको नयाँबसपार्क सहित उपत्यकामा माथि उल्लेखित १२ स्थानमा  नागरिक सहायता कक्षको स्थापना गरि समुद्‍घाटन गरिएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताउनुभयो  । जसबाट सवारी चालक तथा यात्रुहरुले सडकको अवस्थाबारे जानकारी लिइ यात्रा गर्ने तथा सावधानीका उपाय समेत अपनाउन सक्ने कुरामा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, यातायात व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी र सर्बसाधरण लगायत ५ सय जनाको उपस्थिति रहेको थियो ।