सिरहाको लहान नगरपालिका ३ बिहारपुरमा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानिय संजय यादको छोरी ३ बर्षीया सुजीता सदायको मृत्यु भएको हो । बिहारपुर लहान भित्री सडक खण्डमा स १ त ४० ९९ नम्बरको ट्याक्टरले आज बिहान पौने ८ बजे बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी प्रादेशिक अस्पताल लहान सिराहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । दैलेखको भैरवी गाउँपालिका ६ तिजडाँडामा गएराति ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । कुर्माकोट देखी भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अस्थायी नम्बरको ट्याक्टर गएराति ११ बजे पल्टिएको थियो । ट्याक्टर चालक दैलेखकै नारायण नगरपालिका १ बस्ने २१ वर्षीय ईश्वर श्रेष्ठ आज बिहान ७ बजे मृत भेटिएका छन् । घाइते भेटिएका भैरवी गाउँपालिका ४ बस्ने १९ वर्षीय सुन्दर विष्टलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले जनाएको छ ।
स्याङजाको फेदीखोला गाउँपालिका १ कुभिण्डेमा आज बिहान ट्रकमा ठोकिएर स्कुटर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक स्थानिय ३३ वर्षीया जितमाया थापा रहेकी छिन् । गम्भिर घाइते भएकी थापालाई उपचारको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङजा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कुभिण्डेबाट पोखरातर्फ जाँदै गरको ना ४ ख ९३३१ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा आज बिहान पौने ८ बजे सोही दिशातर्फ जाँदै गरेको ईम्बोट नम्बर AAB 02 43 नम्बरको स्कुटर ट्रकमा ठोकिएर पल्टिएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी फेदीखोला स्याङजाले जनाएको छ ।रुपन्देहीको बुटवल उप-महानगरपालिका ८ सुख्खानगरमा आज बिहान टिपरको ठक्कटबाट साईकलयात्रीको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै देवदह नगरपालिका १० चरङगेका ६९ वर्षीय प्रेम नारायण ज्ञवाली रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा मृत्यु भएको हो । महेन्द्रराजमार्गमा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ ख ५०३१ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको हो । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।कास्कीको पोखरा महानगरपालिका २९ भण्डारढिकमा आज बिहान रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका १ का ३१ वर्षीय भिम बहादुर बि.क. रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ जादै गरेको ग १० प ४९९२ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे सडकको छेउमा रोकीराखेको ग १ क ४२०४ नम्बरको टिपरमा ठोकिएर पल्टिएको हो । दुबै सवारी साधन नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र सोही गाउँपालिका ११ मंगलटार स्थित विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक बगाउँदा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा झरेको पहिरोका कारण विपि राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट- मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । त्यस्तै सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत -जावत रोकिएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वको अरुणखोला- चोरमारा सडकखण्डमा हिलो जमेको कारण पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन रोकिएका छन् । यो संगै नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी साधन प्रभावित भएका छन् ।